पश्चिमी वायुको प्रभावले कोशीमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै
काठमाडौँ, २९ माघ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा बादल लाग्नुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो तराईका अधिकांश भू-भागमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भेगमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
विशेष गरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । तराईका अन्य क्षेत्रमा भने दिउँसो मौसम मुख्यaतया सफा रहनेछ ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा पनि तराईका केही स्थानमा तुँवालो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य तथा यातायात सेवामा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ । चिसोबाट बच्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
ac
हिउँदे वर्षा र हिमपातको न्यून सम्भावना भए पनि उच्च पहाडी भेगमा चिसो बढ्ने क्रम जारी रहेकाले पर्यटन तथा पदयात्रामा निस्कनेहरूलाई पनि सावधानी अपनाउन सुझाव दिइएको छ ।