दुई सातापछि पोखरामा फोहर उठ्न थाल्यो : शनिबारसम्म सहर सफा हुने, जथाभावी फाल्नेलाई कारबाहीको चेतावनी

कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि ठप्प रहेको फोहर सङ्कलन कार्य बिहीबार साँझदेखि पुनः सुरु भएको छ। बजारका चोक, सडक किनार र मुख्य गल्लीहरूमा फोहरको पहाड थुप्रिएर दुर्गन्ध फैलिएपछि चौतर्फी दबाबका बीच महानगरले फोहर उठाउन थालेको हो।

पोखरा–३२ लामेआहालस्थित अस्थायी फोहर व्यवस्थापन केन्द्र (ल्यान्डफिल साइट) भरिएपछि महानगरले फोहर उठाउन सकेको थिएन। विकल्पका रूपमा अन्य स्थानमा जमिन खोजिए पनि स्थानीयको विरोधका कारण महानगर असफल हुँदै आएको थियो।

महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि फोहर सङ्कलन गर्ने गाडीहरू सञ्चालनमा आएको जानकारी दिनुभएको छ। “हामीले तत्कालीन र अल्पकालीन व्यवस्थापनका लागि केही प्रबन्ध गरेका छौँ, गाडीहरू क्रमशः टोल-टोलमा पुग्नेछन्,” उहाँले भन्नुभयो, “लामो समयदेखि जम्मा भएको फोहर भएकाले सुरुका केही दिन चाप बढी हुन्छ, तर शनिबारसम्ममा सहरका सबै फोहर उठाइसक्ने हाम्रो लक्ष्य छ।”

मेयर आचार्यले गाडी नआउँदासम्म फोहर घरभित्रै राख्न र सार्वजनिक बाटो वा खुला स्थानमा नफाल्न नगरवासीसँग अपिल गर्नुभएको छ।

महानगरले फोहर उठाउन सुरु गरेसँगै अनुगमनलाई पनि तीव्र पारेको छ। सार्वजनिक स्थान, सडक किनार वा बिजुलीका पोल मुनि फोहर फाल्ने व्यक्ति वा फर्मलाई अनुगमन टोलीले स्थलमै कारबाही गर्ने चेतावनी महानगरले दिएको छ। सहरलाई दुर्गन्धमुक्त बनाउन नागरिकको सहयोग अनिवार्य रहेको भन्दै महानगरले कडाइ गर्ने नीति लिएको हो।
कसरी सिर्जना भयो सङ्कट?
हालै भएको ‘जेन्जी’ आन्दोलनका क्रममा पोखरामा ठूलो मात्रामा फोहर उत्पादन भएको र त्यसले लामेआहालको अस्थायी साइट चाँडै भरिएको महानगरको दाबी छ। फोहरको स्थायी समाधानका लागि पोखरा–३३ मा प्रशोधन केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाइएको भए पनि स्थानीय बासिन्दाले समन्वय अभाव र वातावरणीय असरको कारण देखाउँदै विरोध गरिरहेका छन्।

फोहरको सङ्कट गहिरिएपछि बुधबार महानगरले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको थियो। सो बैठकमा ७२ घण्टाभित्र सहरको फोहर उठाउने र यस कार्यमा सबै राजनीतिक दलले सहयोग गर्ने सहमति भएपछि फोहर सङ्कलनको बाटो खुलेको हो।

अहिलेका लागि केही वैकल्पिक स्थानमा फोहर विसर्जन गर्न सुरु गरिएको भए पनि स्थायी प्रशोधन केन्द्र नबन्दासम्म पोखराको फोहर सङ्कट पूर्ण रूपमा टर्ने देखिँदैन।