काठमाडौँका ११ वटै स्थानीय तहमा मतदाता शिक्षा सुरु, घरदैलोमै पुगेर मतदान गर्न सिकाउँदै स्वयंसेवक
काठमाडौँ, ३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँका सबै स्थानीय तहमा आज (आइतबार) देखि ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जिल्लाका १० वटै निर्वाचन क्षेत्र र ११ वटा स्थानीय तहमा यो अभियान प्रारम्भ गरेको हो।
काठमाडौँका कुल १३८ वटा वडामा मतदाता शिक्षा प्रदान गर्नका लागि प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यो अभियान आगामी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। “हाम्रा स्वयंसेवकहरू प्रत्येक मतदाताको घरआँगनमा पुग्नेछन्,” उहाँले भन्नुभयो, “उनीहरूले नमूना मतपत्रमार्फत मतदातालाई सही ढङ्गले छाप लगाउन र मतपत्र सुरक्षित रूपमा मतपेटिकामा खसाल्न सिकाउनेछन्।”
विगतका निर्वाचनमा देखिएको बदर मतको समस्यालाई न्यूनीकरण गर्न र आम नागरिकलाई मताधिकारको महत्त्व बुझाउन यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। स्वयंसेवकहरूले मतदानको प्रक्रिया मात्र नभई निर्वाचन आचारसंहिता र मतदाताको अधिकारका विषयमा पनि जानकारी दिनेछन्।
यो कार्यक्रम निर्वाचन आयोगको राष्ट्रिय अभियान अन्तर्गत सञ्चालन भएको हो। आयोगले देशभरका ७५३ वटै स्थानीय तहका कुल ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक खटाएर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई मतदान केन्द्रसम्म आकर्षित गर्न र आफ्नो मत सुरक्षित पार्न आयोगले यो १५ दिने विशेष अभियानलाई तीव्रता दिएको हो।