उम्मेदवारबीचको सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास हो : अध्यक्ष ओली

झापा, ६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारहरू बिच हुने सार्वजनिक बहस (पब्लिक डिबेट) लोकतन्त्रको पारदर्शिताको उच्च अभ्यास भएको बताउनुभएको छ ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आइतबार आयोजित झापा–५ का उम्मेदवारहरूबिचको ‘पब्लिक डिबेट’ कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले प्रतिस्पर्धी उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

“उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको जवाफ दिनु नै लोकतन्त्रको पारदर्शिता हो,” अध्यक्ष ओलीले भन्नुभयो ।

निर्वाचनलाई नागरिकले आफ्ना प्रतिनिधिलाई विश्वास सुम्पिने पर्वको रूपमा व्याख्या गर्दै उहाँले उम्मेदवारहरू नागरिकबाट टाढा भाग्न नहुने तर्क गर्नुभयो । “वास्तविक अनुहार लुकाउने र तयार पारिएका सामग्रीमार्फत मात्र मतदातालाई प्रभावित पार्ने प्रवृत्ति उपयुक्त होइन,” उहाँले भन्नुभयो, “हामीले प्रश्नबाट भाग्ने वा छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेका छैनौँ ।”

अध्यक्ष ओलीले एमाले सधैं जनताका प्रश्नहरूको जवाफ दिन तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै आएका छौँ, आलोचना र विरोध पनि सुन्दै आएका छौँ । कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ ।”

कार्यक्रममा अध्यक्ष ओलीले बहस आयोजक, सहभागी अन्य उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नागरिकका हरेक प्रश्नको जवाफ दिन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले ‘प्रश्न सोधौँ, एमाले रोजौँ’ भन्ने सन्देशसहित आफू सधैं नागरिकको साथमै रहने बताउनुभयो ।