झापा–५ का उम्मेदवार बालेन साहको नागरिकतामा विवाद : विवरण फेरेको दाबी गर्दै गृह मन्त्रालयमा उजुरी
काठमाडौँ, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को नागरिकता विवरणमाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।
साहले नागरिकताको विवरण परिवर्तन गरी शङ्कास्पद रूपमा प्रतिलिपि लिएको दाबी गर्दै काठमाडौँका युवराज सफलले छानबिनका लागि निवेदन दिएका हुन् ।
मन्त्रालयमा दर्ता भएको ५४२७ नम्बरको उजुरीमा साहको महोत्तरीबाट जारी भएको सक्कली नागरिकता र पछि काठमाडौँबाट लिइएको प्रतिलिपिमा उल्लेखित विवरणहरू बाझिएको दाबी गरिएको छ ।
निवेदक सफलका अनुसार साहले २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट १५१२ नम्बरको नागरिकता लिएका थिए, जसमा उनको थर ‘साह’ उल्लेख थियो । तर, काठमाडौँको मेयर निर्वाचित भएपछि २०७९ साल असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिँदा घर ठेगाना लगायतका व्यक्तिगत विवरणहरू फरक पारिएको दाबी निवेदनमा गरिएको छ ।
“साहले नागरिकताको विवरण कुन आधारमा र कसरी परिवर्तन गरे ? यस विषयमा सम्बन्धित फाइल र कागजातहरू झिकाई गहिरो अनुसन्धान हुन जरुरी छ,” उजुरीमा भनिएको छ ।
निवेदकले नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ को प्रावधानलाई उद्धृत गर्दै झुटो विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएमा त्यस्तो नागरिकता रद्द हुने कानुनी व्यवस्था रहेको स्मरण गराएका छन् । सफलले गृह मन्त्रालयलाई उजुरीमाथि तत्काल कारबाही अघि बढाउन र दोषी पाइएमा प्रचलित कानुन बमोजिम साहको नागरिकता रद्द गर्न समेत माग गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको मुखमा झापा निर्वाचन क्षेत्र –५ बाट उम्मेदवारी दिएका बालेन साह विरुद्ध परेको यो उजुरीले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । गृह मन्त्रालयले यसबारेमा के–कस्तो कदम चाल्छ भन्ने विषय अहिले चासोको केन्द्रमा छ ।