धादिङ बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा गहिरो दुःख व्यक्त

काठमाडौँ , ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैँसीगौडास्थित पृथ्वी राजमार्गमा भएको त्रासदीपूर्ण बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । । उहाँले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएका सम्पूर्ण यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएका छन् ।

दुर्घटनाको खबरले आफूलाई अत्यन्तै दुःखी तुल्याएको उल्लेख गर्दै अध्यक्ष ओलीले लेख्नुभएका छन्, “पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुवाहक बस धादिङको भैँसीगौडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनुहुने यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

स्मरण रहोस्, पोखराबाट काठमाडौँका लागि छुटेको उक्त बस गएराति धादिङमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने ठूलो सङ्ख्यामा यात्रुहरू घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *