अमेरिकाद्वारा बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिक र कर्मचारीलाई निर्देशन
वासिङ्टन डीसी, १९ फागुन । मध्यपूर्वमा सुरक्षा संवेदनशीलता उच्च हुँदै गएपछि अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका आफ्ना नागरिक र गैर–आकस्मिक (नन–इमर्जेन्सी) सेवाका कर्मचारीहरूलाई तत्काल ती मुलुक छाड्न निर्देशन दिएको छ।
अमेरिका र इजरायलको आक्रमणविरुद्ध इरानले प्रतिकार गरिरहेको अवस्थामा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले यस्तो आदेश जारी गरेको हो।
मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सूचना जारी गर्दै बहराइन र जोर्डनमा रहेका गैर–आकस्मिक सरकारी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई स्वदेश फर्किन आदेश दिएको छ। साथै, मन्त्रालयले आम अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकको यात्रा नगर्न कडा सुझाव (ट्राभल एड्भाइजरी) समेत दिएको छ।
त्यसैगरी, मन्त्रालयले जारी गरेको अर्को छुट्टै सूचनामा इराकको यात्रा निर्देशिकालाई पनि अद्यावधिक गरिएको छ। बढ्दो सुरक्षा चिन्ताका कारण इराकमा कार्यरत गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीलाई सोमबार नै देश छाड्न आदेश दिइएको मन्त्रालयले स्पष्ट पारेको छ। यद्यपि, इराकको सूचनामा कर्मचारीका परिवारका सदस्यबारे भने उल्लेख गरिएको छैन।
अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा आफ्ना दर्जनौं सर्वसाधारणको मृत्यु भएको तेहरानले दाबी गरेसँगै यस क्षेत्रमा तनाव चुलिएको हो। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहराइनमा रहेको अमेरिकी हवाई अखडालाई निशाना बनाएको जनाएको छ।
यसैबीच, आइतबार इराकको राजधानी बग्दादमा कालो पोशाक लगाएका सयौं प्रदर्शनकारीले अमेरिकी दूतावास रहेको अति सुरक्षित ‘ग्रिन जोन’मा प्रवेश गर्ने प्रयास गरेका थिए। उता, जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले पनि अज्ञात सुरक्षा खतराको कारण देखाउँदै सोमबार अस्थायी रूपमा आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।
यसैगरी, इरानले शनिबारदेखि सुरु गरेको जवाफी आक्रमणयता साउदी अरबले आफ्नो आकाशमा आएका एक दर्जनभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको जनाएको छ। लगातारका यी घटनाक्रमले मध्यपूर्वमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अखडाहरूमाथि उच्च सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।