रुकुम पूर्वका दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी : मतगणना शुक्रबारदेखि सुरु हुने

काठमाडौँ, फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै रुकुम पूर्वका अति दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ। सडक सञ्जालको पहुँच नभएका र पैदल यात्रा गर्दा एक दिनभन्दा बढी समय लाग्ने तीनवटा केन्द्रका मतपेटिका सुरक्षित रूपमा जिल्ला सदरमुकाम रुकुमकोट पुर्‍याइएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिस्ने गाउँपालिका–१ को पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका–२ को पेल्मास्थित हिमाल आधारभूत विद्यालय मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रका मतपेटिकाहरू हवाई मार्गबाट ढुवानी गरिएको छ। भौगोलिक विकटताका कारण ती स्थानबाट पैदल मार्गमार्फत मतपेटिका ल्याउन चुनौतीपूर्ण रहेकाले हेलिकप्टर प्रयोग गरिएको हो।

सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले अन्य मतदान केन्द्रका मतपेटिकाहरू ल्याउने कार्य तीव्र गतिमा भइरहेको र आज मध्यरातसम्म सबै केन्द्रका मतपेटिकाहरू सङ्कलन भइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार, भोलि (शुक्रबार) बिहान सर्वदलीय बैठक आयोजना गरिने र सोही बैठकको निर्णयपश्चात् मतगणना औपचारिक रूपमा प्रारम्भ गरिने तयारी रहेको छ।

कुल ५६ वटा मतदान केन्द्र रहेको रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता रहेका छन्। जिल्लाका कतिपय दुर्गम स्थानमा सञ्चार सम्पर्क सहज नभएका कारण खसेको मतको अन्तिम र यकिन विवरण प्राप्त हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कुल ११ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। मतपेटिकाहरू संकलन गरिएसँगै गणना स्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *