समानुपातिकमा रास्वपा पहिलो, एमाले तेस्रो स्थानमा खुम्चियो

काठमाडौँ, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ राम्रै नतिजा निकालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि आफ्नो वर्चस्व कायम गरेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रास्वपाले समानुपातिकमा १० लाख मतको आँकडा पार गरेको छ।

हालसम्म कूल २१ लाख ३९ हजार ५४३ मत गणना सम्पन्न हुँदा रास्वपाले झण्डै ५० प्रतिशत हिस्सा ओगटेको छ। ११ लाख १ हजार ६२५ मतका साथ रास्वपा अग्रस्थानमा रहँदा पुराना र ठूला दलहरू निकै पछाडि परेका छन्।

समानुपातिकतर्फ नेपाली कांग्रेस ३ लाख ६२ हजार ४२० मतसहित दोस्रो स्थानमा छ । वि.सं. २०७९ को निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी पहिलो शक्ति बनेको नेकपा (एमाले) यसपटक तेस्रो स्थानमा खुम्चिएकाे छ। एमालेले हालसम्म २ लाख ९१ हजार १८१ मत मात्र प्राप्त गरेको छ।

अन्य दलहरूको मत विवरण:
नेपाली कम्युनिष्ट पार्टी: १ लाख २७ हजार १९१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ७८ हजार ३२४ मत
श्रम संस्कृति पार्टी (हर्क साम्पाङ नेतृत्व): ४५ हजार ९४ मत
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ४५ हजारभन्दा बढी मतका साथ छैटौँ स्थानमा देखिएको छ, जसलाई राजनीतिक वृत्तमा नयाँ शक्तिको उदयका रूपमा हेरिएको छ।

निर्वाचन आयोगका अनुसार देशभरिबाट समानुपातिकतर्फको मतगणना कार्य तीव्र रूपमा भइरहेको छ। अहिलेको प्रारम्भिक रुझान हेर्दा रास्वपाले समानुपातिक सिटमा पनि ठूलो हिस्सा ओगट्ने निश्चित देखिएको छ।