दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुला, २४ फागुन । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार ६३ मतान्तरले पराजित गर्दै ठगुन्ना सङ्घीय संसद्‌को यात्रा तय गर्न सफल भएका हुन् ।

गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी ठगुन्नाले १८ हजार ८९९ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका प्रतिस्पर्धी कांग्रेसका जोशीले १५ हजार ८३६ मत ल्याएका छन् ।

त्यसैगरी, चुनावमा तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले ३ हजार ६५ मत पाएको कार्यालयले जनाएको छ ।

यसपटक दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि जम्मा ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकोमा ४३ हजार ८६० जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

निर्वाचित भएसँगै सांसद ठगुन्नाले आफूलाई अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेका छन् । उनले आगामी दिनमा दार्चुलाको समग्र विकास, पूर्वाधार निर्माण र जनजीविकाका सवालमा निरन्तर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।