मुस्ताङको मुक्तिक्षेत्रमा भारी हिमपात: जनजीवन प्रभावित, सडक अवरुद्ध हुने जोखिम

मुस्ताङ, ६ चैत । हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथसहितका उच्च हिमाली क्षेत्रमा बुधबार पुनः भारी हिमपात भएको छ । अपराह्न ४:०० बजेदेखि सुरु भएको हिमपात यस वर्षको कात्तिक १० गतेयताको छैटौँ पटक हो ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बारागुङ मुक्तिक्षेत्र–१ मा निरन्तर हिमपात भइरहेको छ । हिमपातका कारण मुक्तिनाथ मन्दिर आसपासका डाँडाकाँडा र बस्तीहरू हिउँले सेताम्मे भएका छन् । “बिहानपख मन्दिरमा दर्शनार्थीको चाप बढी हुन्छ, हिमपात अपराह्नदेखि मात्र सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या परेन,” भुसालले भन्नुभयो, “तर, चिसो अत्यधिक बढेका कारण स्थानीयको जनजीवन भने नराम्ररी प्रभावित भएको छ ।”

जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीका अनुसार मुक्तिक्षेत्रका रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाक्लो हिमपात भइरहेको छ । “हिउँ पर्ने क्रम रोकिएको छैन, रातभरि परेमा दुई फिटभन्दा बढी जम्ने देखिन्छ,” ठकुरीले भन्नुभयो, “हिउँका कारण सडक यातायात अवरुद्ध हुनसक्ने उच्च जोखिम रहेको छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि नै हिमपात भइरहेको छ । चिसोका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् भने पशुपक्षीको रेखदेखमा समेत कठिनाइ भएको छ ।

यता, मुस्ताङको तल्लो क्षेत्र मानिने थासाङ र घरपझोङ गाउँपालिकाका उच्च भेगमा हिमपात भइरहेको छ भने बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा र हिमपातका कारण मुस्ताङको तापक्रममा उल्लेख्य गिरावट आएको छ । हिउँद सकिनै लाग्दा भएको यो हिमपातले हिउँदे बालीलाई राहत पुग्ने आशा गरिए पनि चिसोले दैनिकी भने कष्टकर बनेको छ ।