होर्मुज जलसन्धि खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : नखोले ऊर्जा केन्द्र ध्वस्त पार्ने चेतावनी

एजेन्सी, ८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट (जलसन्धि) खोल्न ४८ घण्टाको कडा अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र उक्त जलमार्ग नखोलिए इरानका ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) माथि हमला गरी नष्ट गरिदिने चेतावनी ट्रम्पले दिएका छन्।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यस्तो चेतावनी दिएका हुन्। मार्च २१ को २३:४४ जीएमटीमा पोस्ट गर्दै उनले इरानलाई ४८ घण्टाको समय तोकेका हुन्। यसको अर्थ इरानले मार्च २३ को २३:४४ जीएमटी (तेहरानको समयअनुसार मार्च २४ बिहान ३:१४ बजे) भित्र ट्रम्पको सर्त मानिसक्नुपर्नेछ।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ। र, यसको सुरुवात सबैभन्दा ठूलो ऊर्जा केन्द्रबाट हुनेछ!”

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यही जलसन्धि हुँदै हुने गर्छ। यसकारण यो जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील र लाइफलाइन मानिन्छ।

पछिल्ला केही सातायता इरानले यो जलमार्गमा लगाएको नाकाबन्दी र व्यापारिक पानीजहाजहरूमाथि गरेको आक्रमणका कारण विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको छ।

ट्रम्पको चेतावनीपछि इरानले पनि कडा जवाफ फर्काएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि अमेरिकाले आफ्ना संरचनामाथि आक्रमण गरेमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका सम्पूर्ण ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने चेतावनी तेहरानले दिएको छ। दुवै देशको यो आमनेसामने धम्कीले मध्यपूर्वमा ठूलो ऊर्जा संकट र युद्धको जोखिम बढाएको छ।