‘जेनजी आन्दोलन’को छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग
काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’बारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अन्तरिम सरकारसँग माग गरेका छन्।
आयोगले सरकारलाई प्रतिवेदन बुझाइसक्दा पनि सार्वजनिक नगरिएको भन्दै उनले कडा आपत्ति जनाएका छन्। समयावधि सकिएर बिदा हुने तरखरमा रहेको अन्तरिम सरकारले प्रतिवेदन गुपचुप राखेर अनेकौँ शंका र उपशंका जन्माएको पौडेलको भनाइ छ।
“कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? यो किन सार्वजनिक गरिँदैन ? आज यो यक्ष प्रश्न खडा भएको छ,” महामन्त्री पौडेलले भनेका छन्, “जाने बेलामा समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट विमुख हुँदैछ। यसलाई विगतका अन्य आयोगका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो।”
उनले आयोगले दिएको प्रतिवेदन आम नागरिकमाझ ल्याउनु सरकारको प्रमुख दायित्व र जिम्मेवारी रहेको स्मरण गराएका छन्।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समेत संस्थागत रूपमै उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिसकेको छ। पार्टीको उक्त निर्णयलाई स्मरण गराउँदै पौडेलले जाँदै गरेको सरकारलाई यथाशीघ्र प्रतिवेदन बाहिर ल्याएर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका हुन्।
भदौ २३ र २४ गते युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा उब्जिएका विवाद र घटनाक्रमको सत्यतथ्य पत्ता लगाउन सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो। आयोगले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाइसके पनि सरकारले त्यसका निष्कर्षहरू लुकाएको भन्दै आलोचना हुँदै आएको छ।