वीर अस्पतालको कडा निर्देशन : औषधि प्रवर्धकलाई प्रवेश निषेध र ‘जेनेरिक’ औषधि सिफारिस अनिवार्य

काठमाडौँ, २१ चैत । वीर अस्पतालले बिरामीको उपचार र औषधि सिफारिसका सम्बन्धमा नयाँ र कडा निर्देशन जारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले चिकित्सकहरूलाई बिरामीको पुर्जामा औषधिको नाम लेख्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ उल्लेख नगरी अनिवार्य रूपमा ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न निर्देशन दिनुभएको हो ।

नयाँ व्यवस्थाअनुसार चिकित्सकहरूले औषधि तथा सर्जिकल सामग्री सिफारिस गर्दा आफ्नो हस्ताक्षरसँगै काउन्सिलको लाइसेन्स नम्बर समेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । अस्पतालले औषधिको बजारीकरण वा प्रवर्द्धन गर्ने व्यक्ति (मेडिकल रिप्रिजेन्टेटिभ–एमआर) हरूलाई कार्यालय समयभित्र अस्पतालमा प्रवेश निषेध गरेको छ । विशेषगरी बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक कक्ष र वार्डहरूमा उनीहरूको प्रवेशलाई पूर्ण रूपमा रोक लगाइएको कार्यकारी निर्देशक शर्माले जानकारी दिनुभयो ।

यसैगरी, अस्पतालका कर्मचारी वा स्वास्थ्यकर्मीले बिरामीलाई अस्पताल बाहिरका निजी औषधि पसलबाट औषधि किन्न प्रेरित गर्ने, वार्डहरूमा निजी पसलका ‘भिजिटिङ कार्ड’ वितरण गर्ने जस्ता कार्य गरेको पाइएमा नियमानुसार कडा कारबाही गरिने चेतावनी अस्पताल प्रशासनले दिएको छ । चिकित्सक वा कर्मचारीले ब्रान्ड नमिलेको बहानामा औषधि फिर्ता गरी बिरामीलाई अनावश्यक दुःख दिएमा पनि संलग्नमाथि विभागीय कारबाही हुने अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन: ४६ स्वास्थ्य संस्थामा ‘फोकल पर्सन’ तोकिने
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘हेलो सरकार’ मार्फत प्राप्त हुने नागरिकका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न आफ्ना मातहतका ४६ वटा स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार शासकीय सुधारका कार्यक्रमअन्तर्गत हेलो सरकारलाई नागरिक ‘प्लेटफर्म’ का रूपमा विकास गर्न यो कदम चालिएको हो । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग सहित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका ४६ वटा निकायलाई पत्र पठाइसकेको छ । नवनियुक्त फोकल पर्सनहरूले नागरिकका स्वास्थ्य सम्बन्धी समस्या र गुनासाहरूको द्रुत सम्बोधनमा समन्वय गर्ने जिम्मेवारी पाउनेछन् ।