मध्यपूर्व युद्ध : इरानद्वारा खाडी राष्ट्र र इजरायलमाथि आक्रमण, अमेरिका–इरान टकराव उत्कर्षमा

एजेन्सी, २२ चैत्र । मध्यपूर्वमा जारी तनाव थप खतरनाक मोडमा पुगेको छ । अमेरिका, इजरायल र इरानबीचको प्रत्यक्ष टकरावले युद्धको दायरा फराकिलो बनेको छ भने खाडी मुलुकहरूसमेत इरानी आक्रमणको निसानामा परेका छन् । सैन्य कारबाहीसँगै राजनीतिक चेतावनी र आरोप–प्रत्यारोपले यस क्षेत्रको स्थिरता अत्यन्त जटिल बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिमा खसालिएको दोस्रो अमेरिकी लडाकु विमानका चालक (एयरम्यान) को सफलतापूर्वक उद्धार गरिएको पुष्टि गरेका छन् । घाइते अवस्थामा रहेका ती सैनिकको उद्धारका लागि अमेरिकाले उच्च क्षमताका दर्जनौँ विमान परिचालन गरेको थियो । यद्यपि, इरानी सञ्चारमाध्यमले भने खोजी अभियानमा संलग्न अर्को एउटा अमेरिकी विमानसमेत खसालिदिएको दाबी गरेका छन् ।

यसैबीच, अमेरिका र इजरायलले इरानभित्र व्यापक आक्रमण गरेका छन् । इरानको अर्दबिल प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु र तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै आणविक संयन्त्र, औद्योगिक क्षेत्र र पेट्रोकेमिकल केन्द्रहरूलाई लक्षित गरी गरिएका अन्य आक्रमणमा पाँच जनाको मृत्यु भएको दाबी गरिएको छ । बुशहर आणविक केन्द्र नजिकैको आक्रमणमा एक सुरक्षाकर्मीको मृत्यु भए पनि विकिरण चुहावट भने नभएको अन्तर्राष्ट्रिय निगरानी निकायले स्पष्ट पारेको छ ।

राष्ट्रपति ट्रम्पले तेहरानमा भएको आक्रमणमा इरानका थुप्रै सैन्य नेताहरू मारिएको दाबी गरेका छन् ।

युद्धको आगो छिमेकी खाडी राष्ट्रहरूमा पनि सल्किएको छ । इरानले कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) माथि मिसाइल र ड्रोन आक्रमण गरेको छ ।

कुवेतका दुईवटा ऊर्जा तथा पानी प्रशोधन केन्द्रमा आक्रमण हुँदा दुईवटा विद्युत् उत्पादन एकाइ बन्द गर्नुपरेको छ भने कुवेत सहरको एउटा सरकारी भवनमा ‘महत्त्वपूर्ण’ क्षति पुगेको छ । कुवेती सेनाले इरानी मिसाइल र ड्रोनलाई आकासमै नष्ट गर्ने प्रयास गरिरहेको जनाएको छ ।

त्यस्तै, यूएईले आफ्नो एल्युमिनियम उद्योगलाई लक्षित गरी इरानले प्रहार गरेका मिसाइल र ड्रोनको प्रतिकार गर्न हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ । बहराइनमा पनि इरानी आक्रमणका कारण एउटा संरचनामा आगलागी भएको छ । यी तीनै देशमा भएका आक्रमणमा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

यसैबीच, इरानले रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गमा आंशिक प्रतिबन्ध लगाएको छ, तर इराकी जहाजहरूलाई भने आवतजावतको अनुमति दिएको छ ।

इरान र उसका समर्थक समूहहरूले इजरायलमाथि पनि आक्रमण तीव्र पारेका छन् । इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण जेरुसेलममा कम्तीमा छ वटा शक्तिशाली विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो दिन तेल अभिव र मध्य इजरायलमा भएका आक्रमणमा पाँच जना घाइते भएका थिए । यमनबाट समेत इजरायलतर्फ क्षेप्यास्त्र प्रहार भएको र त्यसलाई हवाई सुरक्षा प्रणालीले रोकेको इजरायली सेनाले जनाएको छ ।

उता, इजरायलले भने लेबनानको दक्षिणी सहर टायरमा पुनः आक्रमण गरेको छ । उक्त आक्रमणबाट अस्पतालसहितका नागरिक संरचनामा क्षति पुगेको छ ।

राजनीतिक तथा कूटनीतिक मोर्चामा पनि टकराव बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ४८ घण्टाभित्र शान्ति सम्झौता नगरे इरानमाथि अझ कडा कारबाही गर्ने चेतावनी दिएका छन् । तर, इरानी सैन्य नेतृत्वले ट्रम्पको उक्त चेतावनीलाई ‘असन्तुलित र अविवेकी’ भन्दै ठाडै अस्वीकार गरेको छ ।

यसैबीच, अमेरिकी प्रशासनले मारिएका इरानी जनरल कासिम सुलेमानीका परिवारका दुई सदस्यको आवास अनुमति रद्द गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । तर इरानले भने पक्राउ परेका व्यक्तिहरू सुलेमानीका आफन्त नभएको दाबी गरेको छ ।

मध्यपूर्वको यो सङ्कटलाई लिएर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले युद्धले भू–रणनीतिक गतिरोध निम्त्याएको भन्दै तत्काल नयाँ कूटनीतिक पहलकदमीमार्फत द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।