आर्टेमिस–२ मिसन : अत्याधुनिक प्रविधिको युगमा पनि चन्द्रमा अध्ययन गर्न ‘मानव आँखा’ कै भरोसा
एजेन्सी, २२ चैत्र । अत्याधुनिक प्रविधिको विकास भए पनि अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमाको अध्ययनका लागि पुनः मानव आँखामै भरोसा गर्ने भएको छ । मानवले पहिलो पटक चन्द्रमाको परिक्रमा गरेको पाँच दशकपछि ‘आर्टेमिस–२’ मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नै आँखाले चन्द्र सतहको प्रत्यक्ष अवलोकन गर्ने तयारी गरेका छन् ।
अपोलो मिसनयता प्रविधि र क्यामेराको क्षमतामा अभूतपूर्व विकास भए पनि नासाका वैज्ञानिकहरू अझै पनि प्रत्यक्ष मानवीय दृष्टिलाई अपरिहार्य मानिरहेका छन् ।
आर्टेमिस–२ मिसनका प्रमुख वैज्ञानिक केल्सी यङका अनुसार मानव आँखा आफैँमा सबैभन्दा सक्षम र उत्कृष्ट ‘क्यामेरा’ हो । “आधुनिक क्यामेराहरू केही पक्षमा अगाडि भए पनि मानव आँखामा रहेका अत्यधिक रिसेप्टरहरूका कारण यसले सूक्ष्म विवरण र रङहरू क्यामेराभन्दा प्रभावकारी रूपमा छुट्याउन सक्छ,” यङले भने ।
प्रकाशको कोण बदलिँदा सतहको बनावट र रङमा आउने परिवर्तनलाई मानिसले सहजै बुझ्न र विश्लेषण गर्न सक्ने भएकाले वैज्ञानिक अनुसन्धानमा यो अत्यन्त उपयोगी हुने नासाको भनाइ छ । ओरियन अन्तरिक्षयानका चालक भिक्टर ग्लोभरले पनि मानव आँखालाई ‘जादुई उपकरण’ को संज्ञा दिँदै प्रत्यक्ष अवलोकनबाट चन्द्र सतहका सूक्ष्म परिवर्तनहरू पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
यस ऐतिहासिक मिसनका लागि चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय कठोर प्रशिक्षण लिएका छन् । टोलीमा अमेरिकी अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचका साथै क्यानडाका जेरेमी ह्यानसेन रहेका छन् ।
उनीहरूलाई ‘फिल्ड वैज्ञानिक’ बनाउने लक्ष्यसहित कक्षाकोठाको अध्ययनसँगै आइसल्यान्ड र क्यानडामा भूगर्भीय अभ्यास गराइएको थियो । प्रशिक्षणका क्रममा उनीहरूले चन्द्रमाका १५ प्रमुख भौगोलिक विशेषताहरू कण्ठ पारेका छन् । सूर्यको प्रकाशको कोणले सतहको रङ र बनावटमा पार्ने प्रभाव बुझ्न ‘इनफ्लेटेबल चन्द्र ग्लोब’ को समेत प्रयोग गरिएको थियो ।
यस मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूले नासाले तय गरेका १० प्रमुख वैज्ञानिक उद्देश्यमा केन्द्रित रहेर चन्द्रमाका विभिन्न स्थलहरूको अध्ययन गर्नेछन् । केही घण्टा लामो चन्द्रमाको परिक्रमाका क्रममा उनीहरूले क्यामेराका साथै आफ्नै आँखाले सतहको प्रत्यक्ष अवलोकन गर्नेछन् ।
नासाका ग्रह भू–अध्ययन प्रमुख नोआ पेट्रोका अनुसार अन्तरिक्ष यात्रीहरूले चन्द्रमालाई ‘हातको दूरीमा राखिएको बास्केटबल’ जस्तो देख्नेछन् । चन्द्र सतहमा देखिने सूक्ष्म रङहरूको पहिचान गर्नु प्रमुख चासोको विषय रहेको र यसले चन्द्रमाको संरचना तथा इतिहासबारे महत्त्वपूर्ण सङ्केत दिने उनले बताए ।
लुनार एन्ड प्लेनेटरी इन्स्टिच्युटका डेभिड क्रिङका अनुसार उच्च–रिजोलुसनका तस्बिरहरू पहिल्यै उपलब्ध भएकाले नयाँ ठूलो खोजको सम्भावना कम भए पनि अन्तरिक्ष यात्रीहरूले आफ्नै आँखाले देखेर गर्ने वर्णन आफैँमा ऐतिहासिक हुनेछ । यस्तो प्रत्यक्ष अनुभव कम्तीमा दुई पुस्ताले पहिलो पटक सुन्न पाउनेछन् ।
नासाले आर्टेमिस–२ को उडानको प्रत्यक्ष प्रसारण गर्नेछ । यद्यपि, अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टि पुग्दा केही समयका लागि सञ्चार सम्पर्क विच्छेद हुनेछ । प्रमुख वैज्ञानिक यङले सिमुलेसनका क्रममा प्राप्त विवरणहरू अत्यन्त रोमाञ्चक रहेको उल्लेख गर्दै वास्तविक उडानका क्रममा अन्तरिक्ष यात्रीहरूबाट असाधारण अवलोकन आउने विश्वास व्यक्त गरेका छन्
