मध्यपूर्व युद्धको धक्का विश्व अर्थतन्त्रमा : ५० अर्ब डलर सहायता आवश्यक, महँगी र भोकमरीको जोखिम उच्च
एजेन्सी, २७ चैत्र । मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदरमा गम्भीर धक्का लाग्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ । युद्धका कारण इन्धनको मूल्यवृद्धि, आपूर्ति शृङ्खलामा अवरोध र बजारको मनोबल खस्किएकाले विश्वव्यापी आर्थिक सङ्कट गहिरिने जोखिम बढेको हो ।
आईएमएफका प्रमुखका अनुसार, युद्ध सकिएपछि पनि विश्व अर्थतन्त्र तत्काल पुरानै लयमा फर्किने सम्भावना न्यून छ । सडक, उद्योगधन्दा तथा पूर्वाधारमा पुगेको व्यापक क्षति र ऊर्जा बजारको उथलपुथलले अर्थतन्त्रलाई लामो समयसम्म प्रभावित पार्नेछ । युद्धग्रस्त देशहरूको राष्ट्रिय उत्पादनमा सुरुमै करिब ३ प्रतिशतले गिरावट आउने र यसको असर दीर्घकालसम्म रहिरहने आईएमएफको विश्लेषण छ ।
युद्धका कारण व्यापारिक जलमार्गहरू अवरुद्ध हुँदा विश्व बजारमा तेलको आपूर्ति घटेको छ, जसले गर्दा इन्धनको मूल्य अकासिएको छ । इन्धन, ग्यास र रासायनिक मलको मूल्य बढ्दा कृषि उत्पादनको लागत महँगिएर विश्वव्यापी रूपमै खाद्यान्न मूल्यवृद्धि (मुद्रास्फीति) हुने प्रक्षेपण गरिएको छ ।
यसको सबैभन्दा ठूलो मार गरिब तथा ऊर्जा आयातमा निर्भर विकासशील राष्ट्रहरूलाई पर्नेछ । आईएमएफका अनुसार बढ्दो महँगीका कारण कम्तीमा ४५ लाख मानिस प्रत्यक्ष रूपमा खाद्य सङ्कटको चपेटामा पर्नेछन् भने ती देशहरूमा भोकमरीको जोखिम अझै बढ्नेछ ।
युद्धबाट प्रभावित राष्ट्रहरूको उद्धार र आर्थिक पुनरुत्थानका लागि तत्कालै २० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्मको आर्थिक सहायता आवश्यक पर्ने आईएमएफको अनुमान छ ।
यसैबीच, विश्व बैंकका अध्यक्षले विकासशील तथा प्रभावित देशहरूलाई राहत दिन अल्पकालीन रूपमा २५ अर्ब डलर तत्काल उपलब्ध गराउन सकिने घोषणा गर्नुभएको छ । अवस्था हेरी दीर्घकालीन सहायता तथा पुनर्निर्माणका लागि ६० अर्ब डलरसम्मको प्याकेज ल्याउने विश्व बैंकको योजना रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
समग्रमा, मध्यपूर्वको यो द्वन्द्वले सम्बन्धित देशहरूलाई मात्र नभई विश्वव्यापी आपूर्ति शृङ्खला र अर्थतन्त्रलाई नै गम्भीर मोडमा पुर्याएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको निष्कर्ष छ ।