अमेरिका–इरान ‘इस्लामावाद वार्ता’ विफल : सहमति नजुटेपछि युद्धविराम नतोड्न पाकिस्तानको अपिल

एजेन्सी, २९ चैत्र । अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको बहुप्रतीक्षित उच्चस्तरीय शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । करिब २४ घण्टा लामो सघन छलफलपछि पनि कुनै सहमति जुट्न नसकेपछि मध्यपूर्वमा तनाव थप चर्किने जोखिम बढेको छ ।

वार्ता विफल भएसँगै मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै देशलाई हाल कायम रहेको अस्थायी युद्धविराम नतोड्न र संवादलाई निरन्तरता दिन विशेष अपिल गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री इशाक दारले आइतबार एक वक्तव्य जारी गर्दै क्षेत्रीय र विश्वव्यापी स्थायित्वका लागि युद्धविरामको पालना अत्यन्त आवश्यक रहेको बताउनुभयो । “शान्तिपूर्ण समाधानको विकल्प अझै खुला छ । हामी दुवै देशलाई सकारात्मक भावनाका साथ वार्ताको टेबलमा रहिरहन आग्रह गर्दछौँ,” उहाँले भन्नुभयो ।

विवादको चुरो : आणविक कार्यक्रम र होर्मुज जलमार्ग
वार्तामा मुख्य गरी इरानको आणविक कार्यक्रम र महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज जलडमरूमध्य’ को नियन्त्रणका विषयमा गहिरो मतभेद देखिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको निमन्त्रणामा भएको यस ‘इस्लामावाद वार्ता’ मा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीको नेतृत्व त्यहाँको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले गर्नुभएको थियो ।

विदेशमन्त्री दारले आफू र पाकिस्तानी सेना प्रमुख (फिल्ड मार्सल) सैयद असीम मुनीरसहितको टोलीले २४ घण्टासम्म बहुपक्षीय छलफलमा मध्यस्थता गरेको जानकारी दिनुभयो । यद्यपि, आइतबार बिहान वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो ।

सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति भान्स आइतबार नै इस्लामावादबाट स्वदेश फर्किनुभएको छ । फर्किनुअघि पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको स्वीकार गर्नुभयो ।

यो विफलताले अमेरिकालाई असर गरे पनि मुख्य रूपमा इरानका लागि यो अवस्था बढी प्रतिकूल हुने उपराष्ट्रपति भान्सको दाबी थियो । कूटनीतिक पहलका बाबजुद अमेरिका र इरानबीचको गहिरो अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल शान्ति सम्झौता हुने सम्भावना क्षीण देखिएको छ । यद्यपि, पाकिस्तानले आगामी दिनमा पनि दुई देशबीच सहमतिको वातावरण निर्माण गर्न सहजीकरण जारी राख्ने प्रतिबद्धता जनाएको छ ।