सवारी दुर्घटनामा घाइते इन्स्पेक्टर अभय लामाको निधन

काठमाडौँ, १ वैशाख । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ ।

३३ वर्षीय लामाको ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा सोमबार मृत्यु भएको हो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ स्थायी घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको भए पनि उपचार सफल हुन सकेन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले लामाको निधनको पुष्टि गर्दै प्रहरी सङ्गठनले एक कर्तव्यनिष्ठ र उदीयमान अधिकृत गुमाएको बताउनुभयो । नयाँ वर्षको पहिलो दिनमै भएको उहाँको असामयिक निधनले परिवार र प्रहरी वृत्तमा शोक छाएको छ ।