जाजरकोट आगलागी : कीर्तिपुर अस्पतालमा उपचाररत माया जैसीको मृत्यु
सुर्खेत, ८ बैशाख । जाजरकोटको नलगाड नगरपालिकामा भएको आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
नलगाड नगरपालिका–२, छेप्कास्थित आफ्नै घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा गम्भीर घाइते भएकी ४२ वर्षीया माया जैसीको काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी (इन्स्पेक्टर) एक्कबहादुर नेपालीका अनुसार, गत चैत २९ गते (आइतबार) बिहान स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी भएको थियो । उक्त आगलागीमा परी ठालुप्रसादकी श्रीमती मायासहित तीन जना गम्भीर घाइते भएका थिए ।
आगलागीमा परी घाइते भएका अन्य दुई जना—रूपा जैसी र ठालुप्रसादका छोरा गणेश गौतमको भने हाल काठमाडौंमै उपचार भइरहेको छ ।
घटनालगत्तै घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी भेरी अस्पताल नेपालगन्ज पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनीहरूलाई तत्काल काठमाडौं लगिएको थियो । आगलागीबाट घर तथा धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।