भारतीय विधानसभा चुनाव: पश्चिम बङ्गाल र असममा भाजपाको सानदार जित, केरलामा कांग्रेसको पुनरागमन

नयाँ दिल्ली, २१ वैशाख । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको विधानसभा निर्वाचनको अन्तिम परिणाम र रुझानहरू सार्वजनिक भएका छन् । आज बिहानदेखि सुरु भएको मतगणना अनुसार पश्चिम बङ्गाल र असममा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ भने केरलामा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धनले सत्ता पुनरागमन गरेको छ ।

पश्चिम बङ्गालको २९४ सदस्यीय विधानसभामा भाजपाले स्पष्ट बहुमतसहित ऐतिहासिक जिततर्फ अग्रसर भएको छ । पछिल्लो तथ्याङ्क अनुसार भाजपाले १९५ सिटमा अग्रता लिइरहेको छ भने १० वर्षदेखि सत्तामा रहेको ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टीएमसी) ८७ सिटमा खुम्चिएको छ । अन्य दलहरूमा कांग्रेसले दुई, अजुपले दुई र वामपन्थीले एक सिटमा अग्रता लिएका छन् ।

जितको खुसीयाली मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ, “पश्चिम बङ्गालमा कमल फुलेको छ । यो जनशक्ति र सुशासनको जित हो । हामी बङ्गालका जनताको सपना पूरा गर्न हरसम्भव प्रयास गर्नेछौँ ।” गृहमन्त्री अमित शाहले यसलाई ‘भय’ माथि ‘विश्वास’ को विजय भन्नुभएको छ ।
यसैबीच, चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगले दक्षिण २४ परगनाको फाल्टा निर्वाचन क्षेत्रका सबै २८५ केन्द्रमा मे २१ मा पुनः मतदान गर्न निर्देशन दिएको छ । सो क्षेत्रको मतगणना मे २४ मा हुनेछ ।

असममा मुख्यमन्त्री हिमन्त बिस्वा सरमाको नेतृत्वमा भाजपा आबद्ध एनडीए गठबन्धनले सानदार प्रदर्शन गरेको छ । कुल १२६ सिटमध्ये एनडीएले १०० भन्दा बढी सिटमा अग्रता बनाएको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा निकै बढी हो । यससँगै सरमा लगातार दोस्रो पटक मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

केरला: वामपन्थीको १० वर्षे शासन अन्त्य
केरलामा भने मतदाताले सत्ता परिवर्तनको पक्षमा फैसला दिएका छन् । १४० सदस्यीय विधानसभामा कांग्रेस नेतृत्वको यूडीएफले १०२ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । १० वर्ष सत्ता चलाएको पिनाराई विजयन नेतृत्वको एलडीएफ ३५ सिटमा खुम्चिएको छ भने भाजपाले ३ सिट जितेको छ । मुख्यमन्त्री विजयन आफैँले भने धर्मदाम क्षेत्रबाट चुनाव जित्नुभएको छ ।

तमिलनाडुमा विजयको नेतृत्वमा रहेको टिभिके (TVK) ले १०७ स्थानमा अग्रता लिँदै सत्ताको बलियो आधार खडा गरेको छ । सत्तासिन द्रमुक (DMK) ७२ सिटमा र अन्नाद्रमुक ५५ सिटमा देखिएका छन् ।
त्यस्तै, केन्द्र शासित प्रदेश पुडुचेरीमा एनडीएले १८ सिटमा जित र अग्रतासहित बहुमत प्राप्त गरेको छ । यहाँ कांग्रेसले यसअघिका दुई सिट गुमाउँदै ६ सिटमा चित्त बुझाउनुपरेको छ ।