कर प्रणालीमा व्यापक सुधार: अन्तःशुल्क र भन्सार महसुल दर परिमार्जन

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको कर प्रणालीमा व्यापक सुधारको घोषणा गर्नुभएको छ। सङ्घीय संसद्मा प्रस्तुत बजेटमा उद्यमी–व्यवसायी तथा मध्यम वर्गलाई लक्षित गर्दै कर संरचनामा महत्त्वपूर्ण पुनरावलोकन गरिएको छ।

नयाँ बजेट वक्तव्य अनुसार नेपाली उद्योगहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुभन्दा कम्तीमा एक तह कम हुने वैज्ञानिक प्रणाली लागू गरिएको छ। यस व्यवस्था अन्तर्गत २७३ वटा औद्योगिक कच्चा पदार्थको भन्सार दर घटाइएको छ। यसका साथै हाल विभिन्न वस्तुमा लाग्दै आएको ३६० वटा वस्तुको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको छ।

भन्सार प्रणालीलाई सरल र पारदर्शी बनाउन हाल ११ तहमा रहेको भन्सार महसुलको दरलाई घटाएर ७ तहमा झारिएको छ। त्यस्तै, वातावरण संरक्षण र पूर्वाधार सुधारका लागि यसअघि लाग्दै आएको पूर्वाधार विकास कर तथा सडक मर्मत र सुधार दस्तुरलाई एकीकृत गर्दै नयाँ ‘हरित कर’ प्रणाली लागू गर्ने घोषणा बजेटमार्फत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *