हुम्लाको नाम्खा गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित’ घोषणा
हुम्ला, २६ जेठ । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएपछि सोमबार एक समारोहका बीच यो घोषणा गरिएको हो ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सागर लामाका अनुसार गाउँपालिकाभित्रका ६ वटै वडामा रहेका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले नियमित खोप प्राप्त गरेको सुनिश्चित भएपछि यो सफलता मिलेको हो । “स्वास्थ्य संस्थाहरूको सक्रियता र विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि हामीले यो घोषणा गरेका हौँ,” लामाले भने ।
गाउँपालिकाका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र ठूलो उपलब्धि नभएको बताउँदै यसलाई निरन्तरता दिनु मुख्य चुनौती रहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाको उस्तै सक्रियता आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले पछिल्लो समय अभिभावकहरूमा स्वास्थ्यसम्बन्धी चेतना बढेकाले बालबालिकालाई खोप लगाउने दरमा उल्लेखनीय सुधार आएको बताए ।
नाम्खा गाउँपालिका विकट भौगोलिक अवस्था र चिसोका बाबजुद पनि स्वास्थ्यका सूचकहरूमा सुधार गर्दै अघि बढेको छ ।