बाँकेमा सिक्टाको पानीले रोपाइँ : २२ हजार हेक्टरमा सिँचाइ सुविधा

बाँके, ९ असार । बाँकेमा पर्याप्त वर्षा नभए पनि राष्ट्रिय गौरवको ‘सिक्टा सिँचाइ आयोजना’ ले नहरमा पानी प्रवाह गरेपछि धान रोपाइँले तीव्रता पाएको छ । आकाशे पानीको प्रतीक्षा नगरी आयोजनाले नहरमार्फत पानी उपलब्ध गराएपछि जिल्लाका किसानहरू उत्साहित हुँदै खेतमा जुटेका छन् ।

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरको पानी सदुपयोग गर्दै सोमबारदेखि रोपाइँ सुरु गर्नुभएको छ । “सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ,” उहाँले भन्नुभयो, “नहरको पानीले खेतीपातीमा धेरै सजिलो बनाइदिएको छ ।” यस्तै सोही गाउँकी मनसरा डाँगीले पनि पानीको चिन्ताले हुने अन्योल हटेको बताउनुभयो ।

यस वर्ष नवलपुर क्षेत्रमा पहिलो रोपाइँ गर्ने स्थानीय किसान चन्द्रबहादुर थापाले असार पहिलो सातामै रोपाइँ सकिसक्नुभएको छ । समयमै पानी उपलब्ध हुँदा यस वर्ष उत्पादन पनि राम्रो हुने उहाँको अपेक्षा छ ।

सिक्टा सिँचाइ आयोजनाका अनुसार हालसम्म बाँकेको करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार मुख्य बाँध (हेडबक्र्स) बाट पूर्वी र पश्चिम दुवै मूल नहरमार्फत पानी वितरण भइरहेको छ ।
“अहिले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गर्ने लक्ष्यमध्ये २२ हजार हेक्टरमा पानी पुर्‍याइरहेका छौँ,” इन्जिनियर विष्टले भन्नुभयो, “निर्माणाधीन डुडुवा शाखा नहर तीन वर्षभित्र सम्पन्न भएपछि सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्नेछ ।” डुडुवा शाखाले मात्रै १६ हजार हेक्टर क्षेत्र समेट्नेछ ।

सिक्टाको पानीले वर्षामाथिको निर्भरता घटाएपछि बाँकेका विभिन्न पालिकामा रोपाइँ सुरु भएको छ । आयोजनाका अनुसार कोहलपुर नगरपालिका: वडा नं ६, १० र १५, जानकी गाउँपालिका: वडा नं ३, ४ र ५, बैजनाथ गाउँपालिका: वडा नं ५ र ७, खजुरा गाउँपालिका: वडा नं ४, ५, ६, ७ र ८ र राप्तीसोनारी गाउँपालिका: वडा नं २ देखि ७ सम्मका क्षेत्रमा रोपाइँ तीव्र छ ।

पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी र गुरुवागाउँ जस्ता शाखा नहरमार्फत पानी वितरण गरिएको छ । आयोजनाले असार अन्तिमसम्म सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने विश्वास लिएको छ । नहर प्रणालीले नियमित पानी दिन थालेपछि बाँकेका किसानहरूले वर्षौँदेखिको सिँचाइ समस्याबाट राहत पाएका छन् ।