मौलिक शैलीमै ठडिए भक्तपुरका १७८ सम्पदा, ९९ चोक पुनर्जीवित गर्ने नगरपालिकाको योजना

भक्तपुर, १७ असार । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका भक्तपुरका १७८ वटा ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाले ती सम्पदाहरूको प्राचीन मौलिकता र वास्तुकलालाई कायम राख्दै पुनर्निर्माण सम्पन्न गरेको हो।

राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ मा नगरप्रमुख सुनिल प्रजापतिले उक्त जानकारी दिनुभएको हो।

नगरप्रमुख प्रजापतिले सम्पदा संरक्षणको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो गौरवशाली इतिहास, कला र संस्कृतिसँग परिचित गराउनु रहेको बताउनुभयो। “हामीले भक्तपुरलाई खुला सङ्ग्रहालयका रूपमा संरक्षण गर्ने नीति लिएका छौँ,” उहाँले भन्नुभयो, “सोहीअनुसार नगरभित्रका ९९ वटा ऐतिहासिक चोकहरूलाई पुनर्जीवित गर्ने कार्यसमेत अघि बढाइएको छ।” उहाँले ५५ झ्याले दरबारको पुनर्निर्माणका क्रममा त्यहाँ रहेका महत्त्वपूर्ण भित्तेचित्रहरूलाई सुरक्षित रूपमा पुनःस्थापना गरिएको र विदेशी पर्यटकहरूका लागि समेत भक्तपुर आकर्षणको केन्द्र बनिरहेको उल्लेख गर्नुभयो।

राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार सङ्ग्रहालयमा हाल चित्रकला, धातुकला, काष्ठकला र प्रस्तरकलालगायतका करिब २ हजार १०० पुरातात्त्विक वस्तुहरू सङ्ग्रहित छन्। सङ्ग्रहालयले ऐतिहासिक सामग्रीको सङ्कलन र संरक्षणलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुरको वास्तुकला मानव सभ्यताको उत्कृष्ट नमुना भएको चर्चा गर्दै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले विश्वसम्पदा सूचीमा सूचीकृत यो नगरको मौलिकता जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरलाई ‘खुला आकाशमुनिको सङ्ग्रहालय’ को संज्ञा दिँदै शिलालेख र पुरातात्त्विक सम्पदाको संरक्षणमा अझ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अर्का इतिहासविद् विश्वमोहन श्रेष्ठले पुराना कलाले तत्कालीन समाजको ऐना झल्काउने भएकाले यस्ता सम्पदालाई जीवन्त राख्नुपर्ने बताउनुभयो। स्थापना दिवसको अवसरमा सङ्ग्रहालयमा कार्यरत कर्मचारीहरूको कार्यदक्षता बढाउन विशेष प्रशिक्षणसमेत दिइएको थियो।