‘हामीमाथि अन्याय भयो, मेसीलाई जोगाउन खेल खेलियो’: अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टका प्रशिक्षक हसनको आक्रोश
एटलान्टा (अमेरिका) । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि ‘धोखाधडी’ भएको गम्भीर आरोप लगाएका छन् । खेलमा २–० को अग्रता लिएर पनि पराजित भएपछि हसनले रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयमाथि कडा आक्रोश पोखेका हुन् ।
अमेरिकाको एटलान्टामा भएको रोमाञ्चक भिडन्तमा इजिप्टले सुरुवाती दबदबा कायम गरे पनि खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पूनरागमन गर्दै जित हात पारेको थियो । तर, प्रशिक्षक हसनले यो नतिजा स्वाभाविक नभएको दाबी गरेका छन् ।
‘मेसी र अर्जेन्टिनालाई जोगाउने प्रयास’
खेलपछिको पत्रकार सम्मेलनमा विष्फोटक रूपमा प्रस्तुत भएका प्रशिक्षक हसनले भने, “म यसलाई ‘दुर्भाग्य’ भनेर मीठो शब्द प्रयोग गर्न चाहन्न । हामीमाथि सरासर अन्याय भएको छ, हामीलाई ठगिएको छ । सायद उनीहरू विश्व च्याम्पियन टोलीलाई प्रतियोगितामा राखिराख्न चाहन्थे । मेसीलाई अगाडि बढाउन यसो गरिएको हुन सक्छ ।”
उनले अगाडि थपे, “फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका तत्वहरूले काम गर्छन् । विश्व विजेतालाई हरेक स्तरमा सहयोग पुर्याइयो ।”
के थियो विवाद ?
खेलमा इजिप्ट १–० ले अगाडि रहेको अवस्थामा मोस्ताफा जिकोले गरेको गोललाई भीएआरले रद्द गरिदिएको थियो । मुभको धेरै अगाडि लिसेन्ड्रो मार्टिनेजमाथि फाउल भएको भन्दै गोललाई मान्यता दिइएन । यद्यपि, जिकोले नै पछि गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाएका थिए ।
अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने लियोनेल मेसीले बराबरी गोल फर्काए । खेलको पहिलो हाफमा मेसीले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलरक्षक मोस्ताफा शोबेइरले बचाएका थिए ।
विवाद त्यतिमा मात्र सीमित रहेन । एन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि विजयी गोल गर्नुअघि इजिप्टका हाम्दी फाथीलाई एलेक्सिस म्याक एलिस्टेरले जर्सी समातेर तानेको इजिप्टको दाबी थियो । “हाम्रो पक्षमा पेनाल्टी हुनुपर्ने थियो, तर भीएआरले चेक समेत गरेन । हामीले स्पष्ट रूपमा जर्सी तानेको देख्दादेख्दै पनि निर्णय दिइएन,” हसनले आक्रोश व्यक्त गरे ।
खेलको समयतालिकाप्रति आपत्ति
प्रशिक्षक हसनले खेलको समयतालिका (दिउँसो १२ बजे) प्रति पनि तिखो आलोचना गरे । “जसले यो तालिका बनायो, उसले कहिल्यै फुटबल खेलेको छैन । दिउँसो १२ बजे फुटबल खेल्ने समय होइन, यो त घुम्न जाने वा खाजा खाने समय हो,” उनले भने, “खेलाडीले कहिले खाने ? बिहान साढे ७ बजे ?”
टोलीको प्रदर्शनमा गर्व
आफ्नो टोलीका अधिकांश खेलाडी इजिप्टकै घरेलु लिग खेल्ने भए पनि विश्वस्तरीय टोलीसँग डटेर लडेकोमा उनले सन्तोष व्यक्त गरे । “मोहम्मद सलाह र ओमार मार्मुसबाहेक हाम्रा सबै खेलाडी स्थानीय लिगका छन् । यति हुँदाहुँदै पनि हामीले विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्यौँ, यसमा मलाई गर्व छ,” हसनले भने ।
अन्याय महसुस गरेको भन्दै हसनले अब आफूले यो विश्वकपका बाँकी खेलहरू नहेर्ने घोषणा समेत गरेका छन् । यो जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने इजिप्टको ऐतिहासिक यात्रा टुङ्गिएको छ ।