नेप्सेमा सामान्य वृद्धि, साढे ६ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौँ, ५ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले बढेको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले आज पनि सोही वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७.२५ अङ्कले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अङ्कले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने आज स्थिर रहेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार रु ५ अर्ब ५१ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३४३ कम्पनीको ७५ हजार १० पटकको कारोबारमा रु ६ अर्ब ६७ करोड १० लाख १७ हजार बराबरको १ करोड ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता रु ५५.८० ले बढेर रु ४२८.२० मा अन्तिम कारोबार भएको छ। यस्तै, कालंगा हाइड्रो र बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य करिब साढे सात प्रतिशतले बढेको छ। यता, नबिल डिबेन्चर २०८९ को मूल्य भने सर्वाधिक ७.४४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ५५ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युत् कम्पनीको करिब साढे ३१ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सको रु २७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *