एसियाली खेलकुदमा नेपालको क्यानोइङ चुनौती, विजय र आशिषको तयारी तीव्र
कास्की, २९ साउनः जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपाली क्यानोइङ खेलाडीले तयारी तीव्र बनाएका छन्। हरेक चार वर्षमा आयोजना हुने एसियाली खेलकुद खेलाडीका लागि आफ्नो वर्षौँदेखिको मेहनत र संघर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।
यसपटक क्यानोइङतर्फ नेपालबाट धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले ‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा प्रतिस्पर्धा गर्दैछन्। दुवै खेलाडीले विगत एक महिनादेखि पोखराको फेवातालमा नियमित प्रशिक्षण गरिरहेका छन्। नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरको नेतृत्वमा उनीहरूको प्रशिक्षण भइरहेको छ।
विजय माझीका लागि नदीसँगको सम्बन्ध नयाँ भने होइन। उहाँले लामो समयसम्म तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा काम गर्नुभएको थियो। तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने क्रममा हासिल गरेको अनुभव अहिले क्यानोइङ खेलमा उपयोगी बनेको छ।
“तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु। ¥याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ,” विजयले भन्नुभयो।
विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाउनुभएको छ। प्रमुख प्रशिक्षक मगरका अनुसार दुवै खेलाडीले कायक स्लालोम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुदलाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो।
फेवाताल तथा आसपासका क्षेत्रमा नियमित अभ्यास गराउँदै खेलाडीलाई अन्तरराष्ट्रिय प्रतियोगिताको वातावरणअनुसार तयार पार्ने काम भइरहेको प्रशिक्षक मगरले जानकारी दिनुभयो। उहाँका अनुसार खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत प्रतिस्पर्धाका लागि तयार पार्न आवश्यक छ।
“एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ। सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ,” मगरले भन्नुभयो।
फेवातालमा भइरहेको नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन तथा प्रशिक्षणका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुगेको प्रशिक्षक मगरको भनाइ छ। नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षण मात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थलका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो।
आगामी एसियाली खेलकुदमा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउँदैछ। क्यानोइङमा विजय र आशिषको सहभागिताले नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अर्को अवसर प्रदान गरेको छ।