बाघ संरक्षणमा पर्सा निकुञ्जको फड्को: ७१ पुगे पाटेबाघ, ‘सिए टिएस’ प्रमाणीकरण प्रक्रिया सुरु

पर्सा ८ भदौ । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै निकुञ्जको व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने प्रक्रिया सुरु गरिएको छ। बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरणका लागि निकुञ्जले औपचारिक प्रक्रिया अघि बढाएको हो।

सन् २०२२ को गणनामा ४१ वटा वयस्क बाघ रहेको यस निकुञ्जमा सन् २०२६ सम्म आइपुग्दा बाघको सङ्ख्या बढेर ७१ पुगेको छ। यही उपलब्धि र संरक्षणको गुणस्तरलाई दीर्घकालीन बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘सिए टिएस’ (CA|TS) प्रक्रिया अघि बढाएको हो।

यस सम्बन्धमा विभागको आयोजनामा पर्सामा हालै एक कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघको सङ्ख्या बढ्नु मात्र सफलता नभएको उल्लेख गर्दै यसलाई टिकाइराख्न बासस्थान, आहारा र सुरक्षाको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको बताउनुभयो। “सिए टिएसले बाघको सङ्ख्या मात्र होइन, समग्र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय कसीमा मूल्याङ्कन गर्छ,” उहाँले भन्नुभयो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु गौरवको विषय भए पनि बाघसँगै स्थानीय समुदायलाई सुरक्षित राख्नु अबको मुख्य चुनौती रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले ‘बाघ मित्र अभियान’ मार्फत मानव-बाघ सहअस्तित्व र समुदायको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेका छौँ।”

सिए टिएसले निकुञ्जभित्रको बासस्थान, आहारा प्रजातिको उपलब्धता, सुरक्षा व्यवस्था, वैज्ञानिक अनुगमन, समुदायको सहभागिता र मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन जस्ता विषयको समग्र मूल्याङ्कन गर्दछ।

अबको चरणमा निकुञ्जको स्वमूल्याङ्कन, सुधार योजना निर्माण, राष्ट्रिय समीक्षा र स्वतन्त्र मूल्याङ्कन जस्ता प्रक्रियाहरू पुरा गरिनेछन्। यस अवधिमा चोरी-सिकार नियन्त्रणका लागि ‘स्मार्ट पेट्रोलिङ’ र वैज्ञानिक अनुगमनलाई थप तीव्र बनाइने निकुञ्ज प्रशासनले जनाएको छ।

कार्यशालामा जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले यस प्रमाणीकरणलाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई निकुञ्ज र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।