सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु : आज ‘बिरुडा पञ्चमी’ मनाइँदै
काठमाडौँ, भदौ १६ । सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीका दिन आज घर-घरमा ‘बिरुडा’ भिजाएर यस पर्वको औपचारिक आरम्भ गरिएको हो । आजको दिनलाई स्थानीय भाषामा ‘बिरुडा पञ्चमी’ भनिन्छ ।
आजका दिन व्रतालु महिलाहरूले पञ्च अन्न अर्थात् मास, कलौँ, गहत, गहुँ र गुरुस मिसाएर तामाको भाँडोमा भिजाउने प्रचलन छ । बिरुडा भिजाउनु पूर्व तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारिने गरिन्छ । यसरी भिजाएको बिरुडालाई गौरा देवीको प्रसादका रूपमा लिइन्छ र पूजाआजामा प्रयोग गरिन्छ ।
डडेल्धुराको आलितालकी ७८ वर्षीया खगेश्वरी भट्टका अनुसार, गौरा पर्व सुरु हुनुभन्दा एक महिना अघिदेखि नै व्रतालुहरूले शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने गर्दछन् । बिरुडा भिजाउने क्रममा महिलाहरूले डोटेली भाषामा मङ्गलकारी ‘सगुन’ र ‘फाग’ गाउने गर्दछन् ।
संस्कृतिविद् मुरलीधर अवस्थीका अनुसार, गौराका अवसरमा गाइने फागहरूमा माता पार्वती (गौरा) र भगवान् शिव (मयासर) बीचको संवाद र पौराणिक प्रसङ्गहरू समेटिएका हुन्छन् । फागमा गौराले व्रतका लागि आवश्यक अन्न माग्न शिवलाई आग्रह गरेको र शिवले नगरमा गएर बिरुडी खोजेको कथा वाचन गरिन्छ । अवस्थीका अनुसार यो पर्व महिलाहरूका लागि ‘दुबधागो’ धारण गर्ने विशेष अवसर पनि हो, जसलाई पुरुषको व्रतबन्ध जत्तिकै धार्मिक महत्त्व दिइन्छ ।
पर्वको कार्यतालिका अनुसार आज भिजाएको बिरुडालाई भोलि षष्ठीका दिन पखालिन्छ । सप्तमीका दिन नजिकैको धान खेतबाट धान र साउँ (धान जस्तै देखिने घाँस) को प्रतिमा बनाई गौरा घरमा भित्र्याइन्छ । अष्टमी अर्थात् ‘गौराष्टमी’ यस पर्वको मुख्य दिन हो । सो दिन गौराको विशेष पूजाआजा गरी गौराघरको आँगनमा अठवाली गीत, चैत, धमारी र राजा-महाराजाका वीरगाथाका साथमा गौरा नचाइन्छ ।
प्राचीन कालदेखि नै शिव-पार्वतीको आराधना स्वरूप मनाइने यो पर्व अगस्ति ताराको उदयका आधारमा शुक्ल वा कृष्ण दुवै पक्षमा पर्न सक्छ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ ।
गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा, डुस्को र धुमारी जस्ता लोकसंस्कृतिको प्रदर्शन भइरहेको छ । गौरा पर्वले परिवारमा सुख, समृद्धि र सदस्यहरूको दीर्घायु कायम हुने धार्मिक विश्वास रहेको छ ।