मुस्ताङमा सुरु भयो स्याउको ‘पोस्ट हार्भेस्ट’ : तीजलाई लक्षित गरी बजार पठाउने तयारी

मुस्ताङ, १६ भदौ । मुस्ताङका स्याउ बगैँचाहरूमा यतिबेला स्याउ टिप्ने चटारो सुरु भएको छ । जिल्लास्थित सरोकारवाला निकायले तोकेको समयतालिकाअनुसार भदौ १५ गतेदेखि किसान र व्यापारीहरूले छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् ।

स्याउको गुणस्तर र ख्यातिलाई कायम राख्न जिल्ला समन्वय समितिको पहलमा जनप्रतिनिधि, कृषि कार्यालय, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरूको रोहबरमा टिपाइ कार्यतालिका सार्वजनिक गरिएको थियो । स्याउमा गुलियोपना र परिपक्वता सुनिश्चित गर्न छिटो पाक्ने स्याउ भदौ १५ र ढिलो पाक्ने स्थानीय जातका स्याउ भदौ २२ गतेदेखि मात्र टिप्न पाउने निर्णय भएको हो ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार अहिले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च घनत्व प्रविधिमा आधारित जातका ‘गाला’ र ‘गोल्डेन’ स्याउ टिप्न थालिएको छ । “नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गरी कृषक र व्यापारीहरूले स्याउ टिप्न सुरु गरेका हुन्,” अर्यालले भन्नुभयो ।

जिल्लाका ठुला स्याउ फार्महरूमा यतिबेला कामदारहरूको भिड लागेको छ । ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले ४० रोपनीमा उत्पादित हाइब्रिड स्याउ टिपेर दुई दिनभित्र काठमाडौँ पुर्‍याउने योजना रहेको बताउनुभयो । बगैँचामै स्याउ टिप्ने, ग्रेडिङ गर्ने, नापतौल र प्याकेजिङ गर्ने कार्यका लागि दर्जनौँ कामदार परिचालन गरिएको छ ।

यद्यपि, बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने सडक अवरुद्ध हुँदा कतिपय किसानहरू चिन्तित छन् । घरपझोङ–५ स्थित चिम्ले अचार्ड कृषि फार्मले सडक अवरुद्ध भएकै कारण केही दिन ढिला गरी स्याउ टिप्ने योजना बनाएको छ ।

मुस्ताङमा करिब १ हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिन्छ । पछिल्लो समय किसानहरू परम्परागत खेतीभन्दा छिटो उत्पादन दिने उच्च घनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ आकर्षित भएका छन् । गत वर्ष मात्रै मुस्ताङमा ९० करोड रुपैयाँभन्दा बढीको स्याउ उत्पादन भएको थियो, जसमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको तथ्याङ्क छ । अहिले मुस्ताङका बगैँचाहरू लटरम्म फलेका स्याउले राताम्मे देखिएका छन् भने व्यापारीहरू साउनमै बैनापट्टा गरेर स्याउ सङ्कलन गर्न मुस्ताङ पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *