भोजपुरमा ‘मातृत्व जोगाउने अभियान’: १३७ महिलाको क्यान्सर परीक्षण, दुई जनामा शङ्कास्पद लक्षण
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा महिलाहरूमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यले सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत दुई दिनसम्म चलेको उक्त शिविरमा १३७ महिलाको स्वास्थ्य परीक्षण गरिएको छ।
दुर्गम क्षेत्रका महिलाहरूलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ ‘कल्प इम्पावर वुमन नेपाल’ ले गाउँपालिकासँगको समन्वयमा सो अभियान सञ्चालन गरेको हो। संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार महिला स्वास्थ्य र नेतृत्व विकासलाई प्राथमिकता दिँदै हालसम्म करिब २५ हजार महिलालाई सेवा प्रदान गरिसकिएको छ। यस वर्ष थप १० हजार महिलामाझ पुग्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
दुई महिलामा क्यान्सरको प्रारम्भिक लक्षण
स्वास्थ्य परीक्षणका क्रममा दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षणहरू फेला परेका छन्। विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा. रेखा साहले ती महिलाहरूलाई थप परीक्षण र उपचारका लागि परामर्श दिइएको बताउनुभयो। क्यान्सरको प्रारम्भिक अवस्थामा पहिचान भएमा उपचार प्रभावकारी हुने भएकाले यस्ता शिविर महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।
सचेतना र साक्षरतामा जोड
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनुभयो। “समयमै रोगको पहिचान र रोकथामका लागि यस्ता शिविरले ठूलो सहयोग पुर्याउँछ,” अध्यक्ष बस्नेतले भन्नुभयो।
शिविरका साथै महिलाहरूका लागि ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रम र किशोरीहरूका लागि सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो। अभियानका क्रममा टोलीले घरदैलोमै पुगेर प्रजनन स्वास्थ्य, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचार गराउँदा हुने फाइदाबारे समुदायलाई सचेत गराएको थियो।
भोजपुरको यो अभियानले दुर्गम क्षेत्रमा क्यान्सर विरुद्धको लडाइँमा नयाँ उत्साह थपेको स्थानीय सरोकारवालाहरूले बताएका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ।