भोटेकोशी बाढी : कृषि क्षेत्रमा मात्रै रु एक अर्बभन्दा बढीको क्षति
काठमाडौँ, भदौ २९ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले यसको विवरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ।
धानबाली मात्रै करिब ६ हजार टन नष्ट
प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल क्षतिग्रस्त भएको छ, जसबाट पाँच हजार ८४३ टन धान उत्पादनमा नोक्सानी पुगेको छ।
भौगोलिक रूपमा नुवाकोटको बिदुर, लिखु र बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छी तथा गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह सबैभन्दा बढी प्रभावित भएका छन्।
नुवाकोटको बिदुरमा मात्रै ७०० हेक्टर धान खेती प्रभावित हुँदा दुई हजार ४५० टन धान नष्ट भएको छ। त्यसैगरी लिखुमा २३० हेक्टरबाट ८०५ टन र बेलकोटगढीमा २०० हेक्टरबाट ७०० टन धानमा क्षति पुगेको छ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती डुबानमा परेको छ भने रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
तरकारीमा पनि उत्तिकै मार
तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारी नोक्सान भएको छ। यसमा पनि नुवाकोटको बिदुर सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ ९८ हेक्टर तरकारी क्षेत्रबाट अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र डुबानमा परेको छ।
पशुधनमा रु १११ करोडभन्दा बढीको क्षति
बाढीले पशुपन्छी क्षेत्रलाई पनि उत्तिकै असर पुर्याएको छ। कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्, जसको अनुमानित मूल्य रु १११ करोड ३९ लाख रहेको छ।
सङ्ख्याका हिसाबले सबैभन्दा बढी क्षति कुखुरामा देखिन्छ। करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भई कुल पशुपन्छीको ८५.१ प्रतिशत यसैले ओगटेको छ। तर मूल्याङ्कनमा भने कुखुराको हिस्सा कुल क्षतिको जम्मा ४.८ प्रतिशत मात्रै छ।
यसको ठीक विपरीत, चार हजार ५७२ भैंसी प्रभावित हुँदा नै रु ४५ करोड ७२ लाखको क्षति पुगेको अनुमान छ, जुन कुल पशुधन क्षतिको ४१ प्रतिशत हो। त्यस्तै बाख्रा/च्याङ्ग्राबाट रु ३९ करोड १३ लाख (३५.१ प्रतिशत) र गाईगोरुबाट रु १७ करोड ९२ लाख (१६.१ प्रतिशत) क्षति भएको छ।
बाँकी क्षतिमा अन्य पशुमा रु एक करोड ४ लाख, बङ्गुर÷बँदेलमा रु एक करोड ९६ लाख, भेडामा रु २५ लाख र अन्य चरामा करिब रु एक लाख रहेको तथ्याङ्कमा उल्लेख छ।