टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि विशेषगरी महिला भक्तजनको ठूलो घुइँचो लागेको छ। ऋषिपञ्चमीका दिन उक्त मन्दिरमा महिलाहरू ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि पुग्ने भएकाले भिड बढेको हो।
प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपासका सम्पदास्थल सरसफाइ, रङरोगन र सडकबत्ती व्यवस्थापन गरेको छ।
भक्तजनको सहजताका लागि वडाले ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र महानगरपालिकाको स्वास्थ्य विभागसँगको समन्वयमा स्वास्थ्य जाँच शिविर पनि सञ्चालन गरिएको छ।
“पूजाअर्चना र दर्शनका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी समस्या भएमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएको छ,” वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिए।
उनका अनुसार दर्शनका लागि बिहान सबेरैदेखि नै मन्दिर खुला गरिएको छ र मेला व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसमेत खटाइएका छन्।
मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरिएको छ र सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।