भूमिहीनका नाममा सरकारी जग्गामा अनियमितता, १२ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौँ, ७ असोज । सरकारी जग्गा भूमिहीनका नाममा दर्ता गराउने क्रममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा नगर विकास समितिको नाममा रहेको सरकारी जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गराएको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार कर्णाली राजमार्गसँगै जोडिएको कित्ता नम्बर १७७२ को जग्गा पदको दुरुपयोग गरी आफ्नी आमाको नाममा दर्ता गराएको उजुरीमाथि अनुसन्धान गर्दा अनियमितता भएको पाइएको हो ।

त्यस्तै, कित्ता नम्बर ५७२ र ९२१ को जग्गासमेत भूमिसम्बन्धी प्रचलित कानुनविपरीत व्यक्तिका नाममा कायम गराएको आयोगको अनुसन्धानबाट खुलेको दाबी छ ।

आयोगका अनुसार उक्त सरकारी जग्गा अंखपुरा शाही, प्रदिपे दमाई र दीपबहादुर शाहीका नाममा दर्ता गरी भोगचलन गरिएको थियो । जग्गा सिफारिस गर्दा स्थलगत निरीक्षणसमेत नगरी कानुनले तोकेका प्रक्रिया पूरा नगरेको पाइएको आयोगले जनाएको छ ।

भूमिसम्बन्धी नियमविपरीत खाँडाचक्र नगरपालिकाको शहरी तथा बजार क्षेत्रमा तोकिएको १३० वर्गमिटरको सीमाभन्दा बढी जग्गा कृषि प्रयोजनका लागि उपलब्ध गराइएको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा जग्गा प्राप्त गर्ने व्यक्तिहरूको अन्यत्र समेत घरजग्गा रहेको भूमि प्रशासन कार्यालयको अभिलेखबाट देखिएको आयोगले जनाएको छ । साथै, दीपबहादुर शाहीले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको चार वर्ष र जग्गाधनी दर्ता श्रेस्ता अद्यावधिक भएको दुई वर्ष नपुग्दै उक्त जग्गा बिक्री गरेकोसमेत अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ ।

आयोगले तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली र सदस्य राजेन्द्रबहादुर थापालाई प्रतिवादी बनाएको छ ।

यस्तै, मालपोत कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाही, सहायक कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही, खाँडाचक्र नगरपालिका–१ का तत्कालीन कार्यवाहक वडाध्यक्ष तथा वडा सदस्य भरतबहादुर शाही, तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी भक्तबहादुर शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

जग्गा प्राप्त गर्ने अंखपुरा शाही, प्रदिपे दमाई र दीपबहादुर शाही तथा कित्ता नम्बर ९२१ को जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापालाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

कित्ता नम्बर १७७२ को जग्गा अंखपुरा शाही, कित्ता नम्बर ५७२ को जग्गा प्रदिपे दमाई र कित्ता नम्बर ९२१ को जग्गा दीपबहादुर शाहीका नाममा कायम गरिएको तथा उक्त कित्ता नरेन्द्रबहादुर थापाले खरिद गरेको आयोगको अनुसन्धानमा उल्लेख छ ।

आयोगले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *