‘राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ’ – महासचिव पोखरेल
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन
काठमाडौँ, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, लोकतन्त्र र मुलुकको हितका लागि सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले राष्ट्रियता र लोकतन्त्रका सवालमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ पुस्ताका आकाङ्क्षा सम्बोधन गर्दै मुलुकमा स्थायित्व, विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
“लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरू मिलेर काम गर्नुपर्छ,” महासचिव पोखरेलले भन्नुभयो, “त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ।”
उहाँले पछिल्लो निर्वाचनमा जनताले राजनीतिक स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको उल्लेख गर्दै सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा तथा अपेक्षालाई निराशामा परिणत हुन दिन नहुने बताउनुभयो ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्याका विषयमा सरकारले राजनीतिक दलहरूसँग पर्याप्त संवाद नगरेको टिप्पणी गर्नुभयो ।
उहाँले मुलुकका साझा समस्याको समाधानका लागि राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै जलवायु न्यायको प्रश्न पनि अहिलेको साझा विषय भएकाले त्यसको सामना गर्न सबै राजनीतिक शक्ति एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनले मुलुकका समसामयिक राजनीतिक चुनौती र नयाँ पुस्ताका आकाङ्क्षालाई सम्बोधन गर्दै राष्ट्रिय हितमा सहकार्यको वातावरण निर्माण गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
