‘कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ’ – डा. भट्टराई
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन
काठमाडौँ, असोज १८ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई समयानुकूल रुपान्तरण गर्दै आएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले बदलिँदो समय र परिवेशलाई आत्मसात् गर्दै कांग्रेसले रुपान्तरणको बाटो अघि बढाएकोमा खुसी व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले संविधान जारी भएपछि नेपालमा लोकतन्त्रको एउटा चरण पूरा भएको उल्लेख गर्दै अब पुराना राजनीतिक दलको रुपान्तरण वा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफूले १२ वर्षअघि नै पुराना राजनीतिक दल रूपान्तरण हुनुपर्ने वा रूपान्तरणकारी शक्तिहरू एकत्रित भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने धारणा अघि सारेको स्मरण गर्नुभयो ।
“पुराना पार्टी रुपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रूपान्तरणकारीहरू मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी) मा हुँदै मैले भनेको थिएँ,” उहाँले भन्नुभयो, “१२ वर्षपछि यो सिद्ध हुँदै गएकामा खुसी व्यक्त गर्दछु ।”
उहाँले विश्वमा तीव्र गतिमा भइरहेको विकास र परिवर्तनका बीच नेपाली राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित रहन नहुने बताउनुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश बुझेर नयाँ विषय सिक्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सबै राजनीतिक दललाई आगामी २० वर्षका लागि स्पष्ट योजना बनाउन प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
“विश्वमा भएको चमत्कारिक विकासका बीच हाम्रा दलहरू हिजोकै ढाँचामा रहिरहनुहुँदैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझ्न जरुरी छ,” डा भट्टराईले भन्नुभयो, “हामी सबै दलले आगामी २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ । जसको राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ ।”
डा भट्टराईले नेपालको वर्तमान चुनौती सामना गर्न नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू शान्ति प्रक्रियामा प्रवेश गर्ने क्रममा एक विदेशी पत्रकारले कांग्रेस नेता गगन थापालाई भविष्यको नेताका रूपमा चित्रण गरेको प्रसङ्गसमेत स्मरण गर्नुभयो ।
ट्रेन्डिङ
सबै
१
५
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
सम्बन्धित खबर
