उत्तरी गोरखाका पाँच हजार घरधुरी अन्धकारमा

गोरखा, २६ असोज। बूढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजना, विद्युत् वितरण केन्द्र, सडक तथा पुलमा क्षति पुर्‍याएपछि उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीका कारण चुमनुब्री र धार्चे गाउँपालिकाका अधिकांश बस्ती अन्धकारमा परेका छन् भने आरुघाट गाउँपालिकाका केही घरधुरीमा समेत विद्युत् सेवा अवरुद्ध भएको छ।

सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिकाका वडा नं. ३ र ६ का विभिन्न बस्तीमा विद्युत् सेवा ठप्प भएको हो। आइतबार मध्यरातिदेखि आएको बाढीले आयोजनाका विद्युत् पोल, टावर र तार बगाएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।

आयोजनाका अध्यक्ष सुजन गुरुङका अनुसार बाढीले विद्युत्का १२ वटा पोल, एउटा टावर र तार बगाएको छ। पावर हाउस भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विद्युत् अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिकाका लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासलगायतका बस्ती प्रभावित भएका छन्। यस क्षेत्रका ९७१ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ।

विद्युत् र इन्टरनेट सेवा बन्द भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजसमेत प्रभावित भएको छ। सरकारी कार्यालयसँगै निजी सङ्घसंस्था र स्थानीय नागरिकलाई दैनिक काम सञ्चालन गर्न कठिनाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनुभयो।

बाढीले सडक र पुलसमेत बगाएकाले एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्नसमेत कठिन भएको छ। चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार फिलिमबाट माथिल्लो तथा तल्लो क्षेत्रतर्फ जाने बाटो अवरुद्ध भएको छ। विद्युत्, सञ्चार र यातायात सम्पर्क विच्छेद हुँदा बाढी प्रभावित बस्तीको जनजीवन थप कष्टकर बनेको उहाँले बताउनुभयो। उहाँले बाढीबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको जानकारी दिनुभयो।

यसैगरी, बाढीका कारण धार्चे गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो। बाढीले विद्युत् तथा सञ्चार संरचनासँगै सडक र पुलमा समेत क्षति पुर्‍याएको उहाँले बताउनुभयो।

यता, आरुघाट गाउँपालिकाको वडा नं. ५ अन्तर्गत शान्ति बजार क्षेत्रका ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ। गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीका कारण उक्त क्षेत्रका स्थानीय बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका हुन्।

बाढीले विद्युत् संरचनासँगै सडक, पुल र सञ्चार सम्पर्कमा क्षति पुर्‍याउँदा उत्तरी गोरखाको जनजीवन प्रभावित बनेको छ। विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाह, सञ्चार र दैनिक गतिविधिमा समेत समस्या उत्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *