प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा रसुवाको ‘जुरेढुङ्गा’
रसुवा, १३ कात्तिक । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि रसुवाको नौकुण्ड गाउँपालिका–१ स्थित ‘जुरेढुङ्गा’ प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक किंवदन्ती र मौलिक हिमाली जनजीवनले भरिपूर्ण भए तापनि अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गाको फेदीमा आकर्षक सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पाऱ्याङ, चिलाउने, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथलीसहित सातधारे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानीलगायतका डाँडाकाँडाहरू पनि यहाँबाट स्पष्ट देखिन्छन् ।
जैविक विविधताका दृष्टिले निकै धनी यस क्षेत्रमा ठूला–ठूला खस्रु र गोब्रेसल्लाका जङ्गल रहेका छन् भने वसन्त ऋतु (चैत–वैशाख) मा ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्ने गर्दछन् । विश्वमै लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) को समेत बासस्थान रहेको यो क्षेत्र वन्यजन्तु अनुसन्धानकर्ता र प्रकृतिप्रेमीहरूका लागि आकर्षक गन्तव्य मानिन्छ । यसबाहेक स्थानीय तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य तथा चौँरी एवं भेडाका खर्कहरू यहाँका प्रमुख आकर्षण हुन् ।
जुरेढुङ्गाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्थानीय सरकारले पहल थालेको छ । नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई पालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध प्रयासहरू भइरहेको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सडक सञ्जालको सहज पहुँच पुर्याउन र आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्न पालिकाले बजेट विनियोजन गरी काम अघि बढाएको छ ।
यसैगरी, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा हाइकिङ (पदमार्ग) का लागि अत्यन्तै सम्भावनायुक्त स्थान भएको बताउनुभयो । उहाँले जुरेढुङ्गा र आसपासका क्षेत्रलाई उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न संस्थागत तवरबाटै प्रचारप्रसार र प्रवर्द्धनको विशेष पहल सुरु गरिएको जानकारी दिनुभयो ।
काठमाडौँ, नुवाकोट र रसुवाबाट छोटो बिदा मनाउन सहजै पुग्न सकिने यो क्षेत्र विभिन्न सडक मार्गहरूमार्फत जोडिएको छ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारी अथवा कालिकास्थान घुम्तीबाट जिवजिवे–गैरीनागी–भूमेस्थान–लोकिल र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ ।
त्यस्तै, नुवाकोटको विदुरबाट नुवाकोट दरबार–चोकदे–लच्याङ–सरमथली वा बेत्रावतीबाट नौकुण्डको पाच्र्याङ हुँदै पनि जुरेढुङ्गाको यात्रा तय गर्न सकिने स्थानीयवासीले बताएका छन् ।
