बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको उद्धार, अर्काको खोजी जारी

बाजुरा, १४ कात्तिक । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि फसेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । अर्का एक युवक अझै सम्पर्कविहीन छन् ।

उद्धार गरिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्कीको स्वास्थ्य अवस्था सामान्य छ ।

चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्नुभएको थियो ।

बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहराको खोजीका लागि नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर परिचालन गरिएको छ ।

गत असोज ९ गते मार्तडीबाट सम्पर्कविहीन दुई जनासहित पाँच जनाको टोली बडीमालिका गएको थियो । टोलीका पूर्वका तीन जना भने फर्केर मार्तडी पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *