इरानसँगको तनाव समाधान गर्न कूटनीतिक पहल आवश्यक : युएईका राष्ट्रपति सल्लाहकार
एजेन्सी, १६ कात्तिक । संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधान गर्न सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा उहाँले सैन्य समाधानले सङ्कट थप जटिल बनाउने भन्दै अमेरिका र इरानबीचको मतभेद वार्ताबाट समाधान हुन नसके गम्भीर परिणाम आउन सक्ने चेतावनी दिनुभयो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावबारे वार्ता गर्न इरानी प्रतिनिधिमण्डल कतारमा रहेको बताउँदै इरान कूटनीति र आत्मरक्षा दुवैका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धमा युएईले तीन हजारभन्दा बढी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सामना गरेको थियो । त्यसयता खाडी मुलुकहरूले रक्षा क्षमतामा अर्बौं डलर खर्च गरेका छन् ।
बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जायानीले इरानमाथि समुद्री मार्ग, हवाई क्षेत्र र सञ्चार पूर्वाधारलाई लक्षित गरी क्षेत्रीय स्थिरता खल्बल्याएको आरोप लगाउनुभएको छ ।
सम्मेलनमा खाडी सहयोग परिषद्का सदस्य राष्ट्रहरूबीच साझा रक्षा रणनीतिको अभावबारे पनि चिन्ता व्यक्त गरिएको थियो । गर्गसले सुरक्षा सङ्कटका बेला खाडी मुलुकहरू एकजुट हुन नसकेको स्वीकार गर्दै क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
