घोप्टेभीरमा फेरि सुक्खा पहिरो, मलेखु–मुग्लिङ सडक अवरुद्ध
काठमाडौं, २४ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार राति करिब ११ बजे पहिरो खसेको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको उनले जानकारी दिए।
प्रहरीका अनुसार अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरुद्ध भएपछि तिहार मनाउन गन्तव्यतर्फ जाँदै गरेका यात्रु बाटोमै अलपत्र परेका छन् भने सडकमा सवारीसाधनको लामो जाम लागेको छ।
यसअघि सोमबार दिउँसो पनि सोही स्थानमा पहिरो खसेको थियो। उक्त पहिरो हटाउन करिब ९ घण्टा लागेको थियो। सोही स्थानमा पुनः पहिरो खसेपछि यात्रुले थप सास्ती व्यहोर्नुपरेको छ।
