स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ, १ मङ्सिर । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाइएका ४०१ वटा बुलेट मोटरसाइकललाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट नियन्त्रणमा लिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार पछिल्लो एक सातामा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन् । केही मोटरसाइकलले साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, सडकमा स्टन्ट गर्ने र अन्य सवारी चालक तथा यात्रुलाई असहज बनाउने गुनासो बढेपछि प्रहरीले अनुगमन तीव्र बनाएको हो ।
एसपी सुवेदीका अनुसार चर्को आवाजले बालबालिका तथा ज्येष्ठ नागरिकलाई समेत असर पार्नुका साथै शान्त वातावरण खल्बल्याउने र सडक दुर्घटनाको जोखिम बढाउने गरेको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई कम्पनीले निर्माण गरेको मौलिक स्वरूपमा फर्काएर आवश्यक जरिवाना तिरेपछि मात्र सम्बन्धित चालकलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन ।
