गुल्मीको रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै
गुल्मी, १ मङ्सिर । हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले गुल्मीको रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रेसुङ्गा नगरपालिका–स्थित गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि जिल्लामा पर्यटकको चहलपहल बढेको हो ।
सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन सहज बनेको छ । सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न तथा वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने आकर्षक स्थलसमेत बनेको पार्कमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पुग्ने गरेका छन् ।
विदेशमा रोजगारी तथा अध्ययनका लागि रहेका गुल्मेली पनि घर बिदामा आउँदा पार्क घुम्न पुग्ने गरेका छन् । फिनल्यान्ड, लन्डन र हङकङबाट घर फर्किएका मिलन खराल, फणीन्द्र भट्टराई र शान्ति केसीले पार्कको प्राकृतिक वातावरण र पर्यटकीय संरचनाले आकर्षित गरेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा छ करोड रुपैयाँभन्दा बढी लगानीमा पार्क निर्माण गरिएको हो । नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढी पर्यटकले पार्क अवलोकन गरिसकेका छन् भने प्रवेश शुल्कबाट करिब १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
पार्क प्रवेशका लागि सर्वसाधारणलाई ५० रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकालाई २५ रुपैयाँ र विदेशी नागरिकलाई १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, पोखरी, पुल, फोटो खिच्ने स्थान तथा बालबालिकाका लागि खेल क्षेत्र निर्माण गरिएका छन् ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताउनुभयो । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको रेसुङ्गा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म एक करोड रुपैयाँभन्दा बढी लगानीमा जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक मनोरञ्जनका पूर्वाधारसमेत निर्माण गरेको छ । थपिँदै गएका पर्यटकीय संरचनाले रेसुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
