पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा बुधबार प्रारम्भिक सुनुवाइ हुने
काठमाडौँ, १ मङ्सिर । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले गत २० कात्तिकमा रिट दर्ता गराउनुभएको थियो । सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोके पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ सरेको थियो ।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि सुनुवाइको मिति निर्धारण गरेको हो । एकल इजलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्याय भएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
