नेप्सेमा दोहोरो गिरावट, परिसूचक १२.७९ अंकले घट्दा कारोबार रकम बढ्यो
काठमाडौं, १ मङ्सिर । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले मंगलबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो ।
मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २.३२ अंक, फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ अंकले घटेका छन् ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार कित्ता सेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् । यस दिन कुल ४८ हजार ७८८ पटक कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीमध्ये अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यसको विपरीत एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । उक्त ऋणपत्रको २८ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन् । होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ ।
