एमाले कार्यकर्ताले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव अर्याल

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले पार्टी अहिले राजनीतिक परीक्षा दिनुपर्ने अवस्थामा रहेको बताएकी छन् । उनले आगामी स्थानीय तहको निर्वाचनलाई पार्टीका लागि महत्वपूर्ण राजनीतिक परीक्षाका रूपमा व्याख्या गर्दै त्यसमा सफलता हासिल गर्नुपर्नेमा जोड दिएकी हुन् ।

एमालेको राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै सचिव अर्यालले आगामी स्थानीय तहको निर्वाचनमार्फत अघिल्लो निर्वाचनमा पार्टीले बेहोरेको क्षतिको पूर्ति गर्नुपर्ने बताइन् ।

‘आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नैपर्छ । गत निर्वाचनको क्षतिपूर्ति हामीले आगामी निर्वाचनबाट लिनुपर्छ,’ उनले भनिन् ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग प्रत्यक्ष जोडिन, उनीहरूका गुनासा सुन्न र समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन् । जनताले पार्टी र नेतृत्वमाथि उठाएका प्रश्नको जवाफ दिने दायित्व कार्यकर्ताको पनि भएको उनको भनाइ थियो ।

‘एमालेका कार्यकर्ताले आलोचना र प्रश्न मात्र गर्ने होइन, जवाफ दिन पनि तयार हुनुपर्छ । सबै कुरा नेतृत्वतिर फर्काएर हुँदैन,’ अर्यालले भनिन् ।

पार्टीलाई थप सुदृढ बनाउन निष्क्रिय रहेका कार्यकर्तालाई सक्रिय बनाउँदै संगठनात्मक गतिविधिमा परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *