राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ । भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू थापाथली हाइटस्थित कार्की बैंक्वेटमा भेला भइरहेका छन् । भेलामा तीन हजार ४१४ प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

भेला उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली समारोहस्थल पुगिसक्नुभएको छ । अहिले सहभागीहरूको हाजिरी र परिचयपत्र वितरण भइरहेको छ ।

भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठको पनि उपस्थिति छ । विजयलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका भाइ हुनुहुन्छ ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै आगामी स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको एमालेले जनाएको छ । पार्टी जीवनमा स्थानीय कमिटीदेखि केन्द्रीय कमिटी, संसद् र पालिकासम्मका जनप्रतिनिधिलाई समेटेर आयोजना गरिएको यो पहिलो भेला भएको बताइएको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिबारे भेलामा छलफल हुनेछ । भेलाले पार्टीको राजनीतिक कार्यदिशा, आगामी स्थानीय निर्वाचनको तयारी र राजनीतिक लाइनमा एकरूपता कायम गर्ने विषयमा प्रशिक्षण तथा छलफल गर्नेछ ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामको जिम्मेवारी र कार्यसम्पादनका विषयमा पनि भेलामा छलफल हुने कार्यक्रम छ ।

भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठन तथा केन्द्रीय निकायका प्रतिनिधि, संघीय र प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुँदै छन् ।

भेलाको अध्यक्ष ओलीले उद्घाटन गर्नुका साथै विशेष सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्नुहुनेछ । पार्टीमा औपचारिक पुनरागमनपछि भण्डारीको यो पहिलो विशेष सम्बोधन हुने जनाइएको छ ।

यस्तै, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *