एमालेमाथि सरकारी दमन महँगो पर्नेछ, प्रतिरोधका लागि तयार रहनुस् : अध्यक्ष ओली

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पार्टीमाथि निर्मम दमन गरेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको राष्ट्रिय भेलाको उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए ।

‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब सरकारले फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महँगो पर्न सक्छ,’ उनले भने ।

आफू पक्राउ पर्दाका बेला सयौँ कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपिट गरिएको दाबी गर्दै ओलीले आगामी दिनमा हुने प्रतिरोधका लागि ठूलो सङ्ख्यामा कार्यकर्ता तयार रहनुपर्ने बताए ।

‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोधमा लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनु । यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ ओलीले भने ।

उनले सरकारको गतिविधिप्रति सचेत रहन र पार्टीमाथि हुन सक्ने सम्भावित कारबाहीको प्रतिवादका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *