फागुन २१ को चुनावी धक्का अस्थायी हाे : वरिष्ठ नेता भण्डारी
काठमाडौँ, ३ मङ्सिर । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। राष्ट्रिय भेलाको दोस्रो दिन उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्।
“एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,” उनले भनिन्। निराश भएर निष्क्रिय नबसी हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै उनले व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन्। राष्ट्रपतिको सर्वोच्च जिम्मेवारी सम्हाल्दा सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्, “मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन।”
शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै भण्डारीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको टिप्पणी गरिन्। समयमै निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने चिन्ता पनि उनले व्यक्त गरिन्।
पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्यायका विषयमा उनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा उतार्नुपर्ने बताइन्।
युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसङ्गठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ छ।
